महानगरपालिकाले आज (सोमबार) देखि सडकको मापदण्डभित्र रहेका संरचना तथा सामग्रीहरू हटाउने र सरसफाइ गर्ने अभियान थालेको हो । पोखरा रंगशालाअघिबाट राजमार्गको मापदण्डमा पर्ने संरचना भत्काउन सुरु गरिएको छ ।
सडक ऐन, २०३१ ले राजमार्गबाट दायाँबायाँ २५-२५ मिटर सडक मापदण्ड निर्धारण गरेको छ । त्यो मापदण्डभित्र कुनै संरचना रहे त्यसलाई भत्काइने महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए ।
‘त्यो क्षेत्रमा हेभी इक्विपमेन्टसम्बन्धी सामान धेरै जथाभावी हुन्छन् । त्यसलाई हटाउने हो । मापदण्डभित्र संरचना छ भने डोजर पनि लाग्छ’, उनले भने । महानगर एक्सनमा उत्रिएको क्षेत्र ४.७ किलोमिटर दूरीको छ । राजमार्गसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोडिएको छ । विमानस्थल गेटबाहिर नै वर्कसप, हेभी इक्विप्मेन्ट सेन्टर, जथाभावी फोहोरले कुरुप भएपछि महानगरले सफाइ अभियान अघि सारेको हो ।