गुल्मी, असार २५ गते । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–५, भुवनपानीका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको छ । आर्थिक वर्ष २०७९-०८० को संघीय मन्त्रालयबाट प्राप्त सशर्त बजेटबाट वातावरणीय सरसफाई तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत त्यहाँका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको हो ।
भुवनपानीमा रहेको अर्खले स्वास्थ्य कार्यालयको आयोजनामा सोमबार एक औपचारीक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ज्येष्ठ नागरिक रुक्मागत खनाल, नारायण प्रसाद उपाध्याय खनाल र बालकुमारी पाण्डेलाई विद्युतीय चुल्हो हस्तान्तरण गर्नुभयो ।
सोही अवसरमा नगरप्रमुख पन्थीले सबै स्वस्थ रहन आवश्यक रहेको भन्दै नागरिकको स्वास्थ्यप्रति रेसुङ्गा नगरपालिका निकै सजग र गम्भीर रहेको बताउनुभयो । परम्परागत चुल्होको कारण स्वास्थ्यमा पार्ने नकारात्मक प्राभावहरुलाई कम गर्दै आम जनतालाई आधुनिक प्रविधिको चुल्होसँग जोड्ने कार्यको सुभारम्भ भएको बताउँदै नगरप्रमुख पन्थीले भन्नुभयो, “हामी नागरिकको स्वास्थ्य प्रती गम्भीर छौं । स्वस्थ नागरिक तयार भए मात्र समृद्ध नगरपालिका निर्माण गर्न सकिन्छ ।”
जेष्ठ नागरिक लगायतको खानपानसँगै सरसफाइमा पनि विशेष ख्याल पुर्याउनुपर्ने बताउँदै सबै उत्पादनशील कार्यमा लागे मात्र समृद्ध र सबल नगरपालिका निर्माणको ध्यय सफल हुने उल्लेख गर्नुभयो । एलपी ग्यासभन्दा निकै कम खर्चिलो हुने र वातावरणीय हिसाबले पनि अनुकुल हुने भएकाले विद्युतीय चुल्होको अधिकत्तम प्रयोगमा जोड दिन आग्रह गर्नुभयो ।
वडा सदस्य नुमकला विश्वकर्माले समयक्रमसँगै भित्रिएका नयाँ प्रविधि र सामग्रीहरुको प्रयोगका विषयमा तालिमको समेत आवश्यकता रहेको औंल्याउनुभयो । सोही वडाका एमाले अध्यक्ष प्रेम पन्थी, नेपाली कांग्रेस वडा सभापति गोपाल खनालले पनि विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।
रेसुङ्गा नगरपालिकाका आईटी इन्जिनियर सुरेश खनालले विद्युतीय चुल्होको प्रयोग सम्बन्धि जानकारी गराउँदै ग्यास र दाउराको विकल्पको रुपमा विद्यतुीय चुल्होलाई प्रयोग गर्न सकिने बताउनुभयो। वडाअध्यक्ष दुर्गाप्रसाद खनालले वडाका ३३१ थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिनुहुँदै अपुग देखिएमा आगामी आर्थिक वर्षको पहिलो चौमासिक भित्र विद्युतीय चुल्हो वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।