कपिलवस्तु, असार २७ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण सम्पन्नपछि भत्किएको पीसीसी ढलानको रकम कट्टा गरेको छ । उपभोक्ता समितिमार्फत देवीपुर र डालपुर जोडने विसवा खोलामा कल्भर्टको स्ल्याव राख्न र दुवै छेउ पीसीसी गर्न पालिकाले ४ लाख ३१ हजार बजेट विनियोजन गरेको थियो ।
निर्माण गरेको पीसीसी भत्किएपछि पालिकाले मूल्याङ्कन गरी २ लाख ६४ हजार ६२५ भुक्तानी दिएको बताइएको छ । सामाजिक सञ्जाल र मिडियामा मिथ्या सूचना फैलिएको छ । तर गाउँपालिकाले बिग्रिएको कामको रकम कट्टा गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालका अनुसार सो सडक गाउँपालिकाको वडा –५ मा देवीपुर कृषि सडकमा अन्तर्गत निर्माण गरिएको थियो ।
कल्भर्टको स्ल्याव निर्माण र पीसीसी ढलान गरिएको थियो । वडाको करिब आधा दर्जन बस्तीका बालबालिकालाई विद्यालयसम्म पुग्ने बाटोमा कल्भर्ट नहुँदा सास्ती खेप्दैआएका स्थानीय कृष्ण पौडेलले बताउनुभयो । वर्षातको समयमा स्थानीय र स्कुले विद्यार्थी फड्केबाट आउजाउ गर्नुपर्ने बाध्यता रहेको थियो । खोलाको दुवै छेउमा वाल निर्माण भए पनि स्ल्याव निर्माण भएको थिएन ।