बाँके, साउन ३ गते । भेरी अस्पताल नेपालगञ्जमा सेवा लिने विरामीहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक लाख ८० हजार ४३२ ले अस्पतालबाट विभिन्न खालको सेवा लिएका छन् । जसमध्ये एक लाख ४० हजार ७३३ जनाले बहिरङ्ग सेवा लिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले जानकारी दिनुभयो ।
प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईले भन्नुभयो, ‘‘भेरी अस्पतालप्रति विरामी र आफन्तको जनविश्वास बढिरहेको छ, कोभिडको समयमा प्रदान गरिएको सेवा सुविधापछि अस्पतालप्रतिको जनविश्वास बढेको पाइएको हो ।’’
बहिरङ्ग लगायतका अन्य सेवा लिनेको सङ्ख्या बढेपनि अन्तरङ्ग सेवा शय्याका कारण सिमित हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालको तथ्याङ्क अनुसार सम्पूर्ण सेवा लिएकामध्ये करिब २५ प्रतिशत अर्थात् ४६ हजार ६३२ जनाले बीमा सेवा लिएका छन् भने आपतकालीन सेवा २८ हजार ५७२ जनाले प्राप्त गरेका छन् ।
पाँच हजार ५९६ जनाले शल्यक्रियामार्फत र सामान्य तीन हजार ९९० जनाले प्रसुती सेवा लिएको अस्पतालले जनाएको छ । भेरी अस्पतालले मेडिसिन, सर्जरी, प्रसुती, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक र न्यूरोलगायतका उपचार सेवा प्रदान गर्दै आएको छ ।
विभिन्न जटिल खालका शल्यक्रिया समेत यहाँ हुँदै आएको छ । यस अस्पतालमा लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तरप्रदेशबाट समेत विरामीहरु सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।
विरामीको चापलाई मध्यनजर गर्दै भेरीमा अत्याधुनिक ओपिडी भवन निर्माण गरिएको छ । नयाँ भवन निर्माण कार्य जारी रहेपनि इमरजेन्सी कक्ष सञ्चालन भइसकेको छ । १५० शय्याको हालको अस्पताल स्तरउन्नती भई ३५० शय्याको पुर्याउने तयारी गरिएको छ । नयाँ भवन निर्माण भए पनि पुरानो भवन जीर्ण भएका कारण थप भवन निर्माणका लागि माग गरिएको छ । भेरीमा बढ्दो विरामीको चापसहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको अस्पतालले जनाएको छ ।