कपिलवस्तु, साउन ३ गते । कपिलवस्तुका बगैँचामा आँप महंगो मूल्यमा बिक्री हुन लागेको छ । अघिल्लो सातासम्म ६० रुपियाँ किलोग्राममा पाइनेगरेको आँपको थोक मूल्य अहिले प्रतिकिलो १ सयभन्दा बढी पुगेको छ ।
जिल्लाको शिवराज, कृष्णनगर, यशोधरा, महाराजगञ्ज, मायादेवी, विजयनगरलगायत स्थानमा आँप बगैँचा रहेको छ । यस वर्षको उत्पादन सकिन लागेपछि आँपको मूल्यमा भारी बृद्धि भएको शिवराजका फलफूल थोक व्यापारी रहिस साहले बताउनुभयो ।
कपिलवस्तुमा गत वर्षभन्दा यस वर्ष आँपको उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रवीन्द्रनाथ चौबेले भन्नुभयो, “यो वर्ष १० प्रतिशतले उत्पादन कम भएको छ । लामो समयको खडेरीले कृषक मारमा परेका छन् । आँपको बगैँचामा मधुवा कीराको प्रकोपले फलमा असर गर्दा उत्पादनमा गिरावट आएको छ ।”
चौवेले जिल्लामा आँप खेतीप्रति कृषकको आकर्षण बढ्दैगएको बताउनुभयो । यस वर्ष जिल्लामा १ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा १२ हजार टन आँप उत्पादन भएको छ । गत वर्ष १ हजार ४ सय २० हेक्टरमा १३ हजार टन आँप उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।
स्थानीय कृषक राहुल पाण्डेले हावाहुरी तथा कीराका कारणले आँपको दाना मुस्किलले जोगाएको बताउनुभयो । किटनाशक औषधि छरेर फल जोगाइएको उहाँको भनाइ छ ।