कपिलवस्तु, साउन ८ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्य सडकको दुबै किनारमा बृक्षारोपण गरेको छ । ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत आरटीओ सडकमा विरुवा लगाइएको छ ।
तीन किलोमिटर क्षेत्रमा १५ मिटरको दूरीमा वृक्षारोपण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । करिब ५ हजार विरुवा सडकको छेउमा रोपिएको छ । नीम, कल्कीफूल, एकासिया, इपिलिपीलगायतका जातको विरुवा रोपिएको वडा –६ का अध्यक्ष प्रेमबहादुर कल्वारले बताउनुभयो ।
विरुवा संरक्षणका लागि बाँसबाट निर्माण गरिएको डोलको प्रयोग गरिएको छ । पालिकाले हरित प्रवद्र्धन कार्यक्रम अन्तर्गत खाली क्षेत्र, सडक किनारा, पोखरीको डिल, तालतलैया, पानीका मुहानलगायतका सार्वजनिक क्षेत्रमा वृक्षारोपण गर्दैआएको छ ।
गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष प्रवेज आलम खाँले पालिकाको सौन्दर्यीकरणसँगै ग्रामीण क्षेत्रमा जीविकोपार्जन सुधारका लागि वृक्षारोपण महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहरी क्षेत्रमा पनि सहरी वन अर्थात अर्बान फरेष्ट्रीले महत्व पाइरहेको बताउनुभयो ।
हरित सडक बनाउने कार्यक्रम अन्तर्गत पालिकाभित्र निर्माण भएको सबै सडक किनारमा वृक्षारोपण गरिने बताइएको छ ।