तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो ।
कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए । व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको बताए ।
उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेको जानकारी दिँदै राईले सोही अनुरुप बैंक दाता रोक्का गरिएको बताए । उनका अनुसार तनहुँमा २८, लमजुङमा तेह्र र गोरखामा छ व्यवसायी फर्मको रकम बक्यौता रहेको छ ।
दश अर्ब बढी राजस्व सङ्कलन
आर्थिक वर्ष २०७९/८० मा रू दश अर्ब ८० करोड राजश्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ । रू ११ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुरुप राजस्व सङ्कलन नभएको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए ।