जलेश्वर, साउन १५ गते । ११० फिट अग्लो राष्ट्रिय झन्डाको समुद्घाटनको लागि उपराष्ट्रपति राम सहाय प्रसाद यादव मटिहानी आउने भएका छन् ।
मटिहानी नगरपालिकाको नगर प्रमुख हरिप्रसाद मण्डलले मटिहानी वडा नं. ७ स्थित तस्मैया बाबा पार्कमा निर्माण गरिएको ११० फिट अग्लो राष्ट्रिय झन्डाको समुद्घाटनको लागि निमन्त्रण गरेपछि साउन १६ गते मङ्गलवार उपराष्ट्रपति यादव मटिहानी आउने कार्यक्रम रहेको जनाइएको छ ।
साउन १६ गते मङ्गलवार बिहान १० बजे मटिहानी आउनु हुने उपराष्ट्रपति यादवले झन्डाको समुद्घाटन गरेपश्चात् उहाँ नागरिक अभिनन्दन कार्यक्रममा मटिहानी भ्रमण कार्यक्रम तय भएको मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले बताउनु भएको छ ।
उपराष्ट्रपति यादवले मटिहानी भ्रमणको क्रममा पौराणिक एवं धार्मिक लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्नुका साथै तस्मैया बाबाको दर्शन गर्नु हुनेछ भने लक्ष्मी सागर पोखरीमा भगवान् लक्ष्मीनारायणको आरती गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसै गरी उहाँले नेपालकै जेठो राजकीय संस्कृत माध्यमिक विद्यालयको निरीक्षण अवलोकन गर्नुका साथै पिर बाबा मजारको पनि दर्शन अवलोकन गर्नु हुने कार्यक्रम रहेको जनाइएको छ ।