कपिलबस्तु, फागुन ७ गते । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटनको विकासबाटै नै आर्थिक समृद्धि हुने बताउनुभएको छ । कपिलबस्तुको तौलिहवामा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले खेल र पर्यटन एक अर्काका परिपुरक भएकोले खेल संगै पर्यटनको विकास हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अवको समयमा कसैले आएर गरदेला भन्ने विश्वास राख्नु भन्दा हामीले नै परिवर्तन गर्नु पर्छ भन्ने विश्वासका साथ आगाडी बढ्नु पर्ने बताउनुभयो ।’ नयाँ नेपाल भन्दा पनि व्यवस्थित नेपाल, स्वास्थ्य नेपाल, खेलले परिपुर्ण नेपाल र शिक्षित नेपाल बनाउने अभिभरा हाम्रो काँधमा रहेको उहाँको भनाई छ ।
राष्ट्रको नेतृत्व गर्ने व्यक्तिहरुले काठमाडौं भनेको नेपाल र नेपाल भनेको काठमाडौं बुझिदिएका कारण राष्ट्र विकसित हुन नसकेको मन्त्री पाण्डेयले बताउनुभयो ।
लुम्बिनी प्रदेशलाई विश्वमै पर्यटनको प्रदेशको रुपमा चिनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय उत्पादनलाई ब्राण्डिङ र बजारीकरण गर्ने तथा युवाहरुलाई रोजगारी दिने प्रदेश सरकारले नीति लिएको उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्ययले राष्ट्रपति रनिङ शिल्डले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । खेलको विकासमा प्रदेश र स्थानिय तहले पनि सहयोग गर्नु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा प्रशिक्षक राजेश शाक्यले फागुन ८ सम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेक्टिक्स उसु, कराते र तेकान्दु लगायतको ६ विधामा खेलहरु सञ्चालन गरिएको बताउनुभयो । प्रतियोगितामा कपिलबस्तुका दश स्थानिय तह मध्ये आठ स्थानिय तहले भाग लिएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्य, कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।