तौलिहवा (कपिलबस्तु), फागुन १३ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा दादुरा रुबेला खोपको शुभारम्भ गरिएको छ । खोपको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले गर्नु भएको हो । जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका २ लाख २८ हजार ३६४ जना बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाइने स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।
सो अवसरमा बोल्दै प्रमुख आचार्यले अभियनालाई प्रभावकारी बनाउन सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो । उहाँले खोप लगाई सकेपछि मानिसको मृत्यु हुने सम्भावना नरहने बताउनुभयो । उहाँले भन्नुभयो ‘खोप ९ महिना देखि १५ महिना सम्माका लागि खोप रहेपनि संक्रमण अन्य बच्चहरुमा देखिएकोले १५ वर्ष सम्मका बच्चलाई खोप लगाउने परिस्थिति आएको छ ।’
दादुरा रुबेला एक पटक नियन्त्रणमा आएपनि पुनः फैलिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो । यसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने भयभव स्थिति देखा पर्ने उहाँको भनाई छ । त्यसैले नेपाल सरकारले दादुरा रुबेलालाई अभियानकै रुपमा सञ्चालन गरेको प्रजिअ अर्यालले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीका अनुसार कपिलबस्तुमा दादुरा रुबेला खोप अभियान आजबाट शुभारम्भ गरिएको र खोपसंगै बालबालिकालाई अन्य नियमित खोप समेत दिने कार्यक्रम रहेको बताउनुभयो । जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि समेत यो अभियान महत्वपुर्ण रहेको उहाँको भनाई छ ।
जिल्लामा चार चरणमा दादुरा रुबेला खोपको अभियान सञ्चालन गरिएको छ । पहिलो चरणमा कपिलबस्तु नगरपालिका र विजयनगर गाँउपालिकामा फागुन १३ देखि २१ गते सम्म, दोस्रो चरणमा यशोधरा, शुद्धोधन र मायादेवी गाँउपालिकामा फागुन १५ देखि २१ गते सम्म, तेस्रो चरणमा शिवराज, कृष्णनगर, महाराजगंज र बाणगंगा नगरपालिकामा फागुन १८ देखि २४गते सम्म तथा चौथो चरण्मा बुद्धभुमि नगरपालिकामा २२ गते देखि २८ गते सम्म अभियान सञ्चालन हुने छ ।
स्वास्थय कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले खोप पुर्ण सुरक्षित रहेको र केही समस्या भए तत्कालै स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरे । सरकारले दादुरा रुबेलाको उच्च जोखिम रहेका काठमाण्डौ र तराईका जिल्ला गरी २४ जिल्लामा ९ महिना देखि १५ बर्षका बालबालिकालाई फागुन १३ देखि खोप लगाउने कार्यक्रम छ । बाकी ५१ जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष सम्मकालागि खोप लगाईने छ । जिल्ला खोप समन्वय समितिका प्रमुख आचार्यको अध्यक्षता र श्रीधर खनालको संचालनमा कार्यक्रम भएको थियो ।