साझा न्यूज । कपिलवस्तु
पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको परिचयात्मक तथा जिल्ला स्तरीय सरोकारवालाहरुसंगको छलफल कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ । सो अवसरमा हेलेन केलर ईन्टरनेशनल र आई.डी.ई. को सहयोगमा कालिका स्वावलम्वन सामाजिक केन्द्रले परियोजनाको कार्यान्वयन गर्नेछ ।
परियोजना शुभारम्भ भए संगै सरोकारवालाहरुको विचमा गरिएको छलफल कार्यक्रममा कालिका स्वावलम्वन सामाजिक केन्द्रका फोकल पर्सन प्रवीण कुमार श्रीवास्तव, हेलेन केलर ईन्टरनेशनलको तर्फबाट भरत शर्मा र आई.डी.ई.नेपालको तर्फबाट जंग बहादुर गुरुङ्गले परियोजना अन्र्तगत गरिने क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए ।
परियोजना अन्र्तगत हेलेन केलरले जिल्लाको १० वटै पालिकामा पोषण स्वास्थ्य र आई.डी.ई.ले ४ पालिकाहरु यशोधरा, विजयनगर, मायादेवी र शुद्धोधन गाउंपालिमा कृषि र खानेपानी सरसफाई तथा स्वच्छता को क्षेत्रमा काम गर्ने छ ।
परिचायत्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लामा पालिकाहरुले गर्ने कामहरुको तौर तरिकामा खासै सुधार नआएको बताए । उत्तर र दक्षिणी क्षेत्रका पालिकाहरुको समुदाय स्तरका सवालहरु फरक फरक रहेको भन्दै समुदायको सवालहरुलाई प्रत्यक्ष सम्वोधन हुने ढंगबाट परिणाम देखिने खालका काम गर्न प्रजिअ अर्यालले सवैलाई आग्रह गरे ।
सोही अवसरमा शुद्धोधन गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरीले पालिका, स्थानीय समुदाय, गैसस, नागरिक अगुवाहरु सवै मिलेर संयुक्त रुपमा अघि बढ्न सके समुदायमा सकारात्मक परिवर्तन संभव रहेको बताए । आफुले पालिकामा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ सम्वोधन गरी अघि बढेको बताए ।

पालिकाको पहलमा गाउंका ९० प्रतिशत घर धुरीमा शौचालय निर्माण गरेको विजयनगर गाउंपालिकाका प्रमुख गोपाल थापाले बनाए । तर पालिकाका सर्वसाधारणहरु अनिवार्य शौचालय प्रयोगमा कमी देखिए पछि कडाईका साथ शौचालय प्रयोगका लागि जोड दिएका छौं, पालिका प्रमुख थापाले भने, “यसका लागि आम सर्वसाधारणको भित्रैबाट शौचालयको महत्व र यसको प्रयोग गर्ने बानी प्रति चासो बढ्नु जरुरी छ ।”
परियोजना परिचायत्मक कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले परियोजनामा भएका उद्देश्य प्राप्तिका लागि यसका क्रिलाकलापहरुलाई सघन ढंगबाट गरेर परियोजनाको उद्देश्य प्राप्तिका लागि शुभकामना व्यक्त गरेका छन् ।
सो अवसरमा जिल्लामा संचालन हुने विभिन्न परियोजनाहरुको अनुगमन, नियमन र सल्लाह तथा सुझावका लागि समन्वय प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति गठन गरिएको छ ।
कार्यक्रम जिल्ला समन्वय समितिका समन्वय अधिकारी जनार्दन अधिकारीले संचालन गरेका थिए ।
















































