तौलिहवा (कपिलवस्तु), असार २ गते । कपिलवस्तु जिल्ला पूर्णखोप सुनिश्चितता तथ दिगोपना घोषणा गरिएको छ । एक कार्यक्रमका विच लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री खेमबहादुर सारुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो ।
जिल्लामा खोप लगाइरहेका १५ महिनामुनिका बालबालिका १४ हजार ८ सय ४२ जना र पूर्ण खोप प्राप्त गरेका १६ महिनादेखि २३ महिना भित्रका बालबालिकाहरुलाई अनुगमन गर्दा १५ महिनामुनिका सम्पूर्ण बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेकोले जिल्लालाई पूर्ण खोप घोषणा गरिएको स्वास्थ्य कार्यालय कपिलबस्तुका प्रमुख गौरब ढकाले बताउनुभयो ।
जिल्लालाई सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री खेमबहादुर सारुले घोषणा गर्नु ठूलो कुरा नभई त्यसलाई दीगो रुप दिनु महत्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरि रहेको बताउनुभयो । स्वास्थ्य संवेदनशील विषय भएकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्नेमा जोड दिनुुभयो ।
जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बालबालिकाप्रति गरेको लगानी भविष्यका लागि सुनौलो काम हुने भन्दै स्वास्थ्य र शिक्षामा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका थिए ।
कपिलबस्तु लुम्बिनी प्रदेशको चौथो जिल्लाको रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
















































