जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशमा सत्ता समीकरण फेरिँदै जाँदा दुई जना नेताले मुख्यमन्त्रीको दाबी पेश गर्नुभएकाे छ ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का जितेन्द्र सोनार दुवैले आ–आफ्नो पक्षबाट सरकार गठनको दाबी बुधबार प्रदेश प्रमुखसमक्ष बुझाएका हुन् ।
बुधबार कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीको समर्थनमा यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको हो । यस गठबन्धनमा ५८ सांसदको समर्थन रहेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिनुभयो ।
त्यसैदिन लोसपा, जनता समाजवादी पार्टी (जसपा,) जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा ९एस० सहितका पाँच दलले जितेन्द्र सोनारलाई मुख्यमन्त्री बनाउन संयुक्त दाबी पेश गरेका थिए । उक्त गठबन्धनको समर्थन संख्या ५४ रहेको छ ।
जनमत पार्टीको भूमिकालाई यस राजनीतिक समीकरणमा निर्णायक मानिएको छ । पार्टीले कहिले लोसपालाई त कहिले कांग्रेस पक्षलाई समर्थन जनाउँदै आएकोले दुवै गठबन्धनमा त्यसको समर्थन निर्णायक बन्न सक्ने विश्लेषण गरिएको छ ।
मधेश प्रदेश सभामा सहभागी दस दलका १०७ जना प्रदेश सभासदस्यहरु रहेका छन् । एमालेको २५, कांग्रेसको २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमतको १३, लोसपा र नेकपा एकिृत समाजवादी पार्टीको नौ-नौ जना रहेका छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मिुक्ति र राष्ट्रि प्रजातन्त्र पार्टीका एक-एक जना रहेका छन्।
















































