लुम्बिनी विकास कोषको सदस्य सचिवमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकार सन्तोष पाण्डेय नियुक्त हुनुभएको छ।
करिब छ महिनादेखि रिक्त रहेको सदस्य सचिव पदमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेयलाई नियुक्त गरेको हो। सदस्य सचिव पदका लागि २०९ जनाले आवेदन दिएका थिए। सरकारले कोषका १२ पदका लागि खुला आवेदन माग गर्दा कुल ७२७ जनाको आवेदन परेको थियो।
रुपन्देहीको तिलोत्तमा निवासी पाण्डेय पूर्वाधार विकास, संरचनागत इन्जिनियरिङ तथा सहरी योजना व्यवस्थापनका क्षेत्रमा अनुभव राख्नुहुन्छ। उहाँ यसअघि पूर्वाधार विकासमन्त्री लम्सालको प्रमुख सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्थ्यो।
सदस्य सचिव कोषको प्रमुख कार्यकारी पद हो। उहाँको नियुक्तिसँगै लामो समयदेखि रोकिएको लुम्बिनी विकास गुरुयोजनाको बाँकी कामले गति लिने अपेक्षा गरिएको छ।
यसैगरी, कोषको परिषद् सदस्यमा डा. अमित केसी, अर्जुन कुर्मी, उपेक्षा गुरुमाँ र दीपक कौशल नियुक्त हुनुभएको छ। चारै जना रुपन्देहीका बासिन्दा हुन्। नवनियुक्त सदस्यहरूले नियुक्तिपत्र बुझिसकेको अर्जुन कुर्मीले जानकारी दिनुभयो।
कोष गत वैशाख १९ गतेदेखि पदाधिकारीविहीन रहेको थियो।
















































