आन्द्रे रसेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ। ब्याटिङमा अविजित अर्धशतक बनाएका रसेलले बलिङमा चार विकेट लिँदै विराटनगरलाई रोमाञ्चक जित दिलाएका हुन्।
मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७२ रनमा सीमित भयो। अन्तिम बलमा जनकपुरका सेफ हसनलाई आउट गर्दै रसेलले विराटनगरको जित सुनिश्चित गरे।
यो जितसँगै सुरुवाती दुई खेलमा पराजय बेहोरेको विराटनगरले लगातार दोस्रो जित निकालेको छ। चार खेलबाट चार अंक जोडेको विराटनगरले प्रतियोगितामा आफ्नो स्थिति सुधार गरेको छ। समान चार खेल खेलेको जनकपुरको पनि चार अंक छ।
जनकपुरका लागि बंगलादेशी ब्याटर सेफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। उनले ४८ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेका थिए। अन्तिम बलमा रसेलको बलमा बसिर अहमदबाट क्याच आउट भएपछि जनकपुरको जितको सम्भावना समाप्त भएको थियो।
जनकपुरको सुरुवात भने कमजोर रह्यो। टोलीले ३० रन बनाउँदासम्म तीन विकेट गुमाइसकेको थियो। त्यसपछि हसन र विशाल सुशलिङले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले।
यस संस्करणमा पहिलो खेल खेलेका विशालले ३० बलमा दुई चौका र तीन छक्कासहित ४३ रन जोडे। उनी आउट भएपछि क्रिजमा आएका जिमी निशमले हसनसँग पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरे।
निशमले १५ बलमा २९ रन बनाउँदै जनकपुरलाई जितनजिक पुर्याएका थिए। तर, १९औँ ओभरको अन्तिम बलमा रुपेश सिंहले निशमलाई आउट गरेपछि खेल विराटनगरको पक्षमा मोडियो।
बलिङतर्फ विराटनगरका रसेलले चार ओभरमा ४५ रन खर्चेर चार विकेट लिए। एन्जेलो म्याथ्युजले दुई र रुपेश सिंहले एक विकेट हात पारे।
तीन अर्धशतकको मद्दतमा विराटनगरको १७४ रन
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए। उनले ४५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। ओपनर लोकेश बमले ४० बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५० रन जोडे।
टोलीको स्कोर दुई रन हुँदा ओपनर शेहान जयसूर्या आउट भएपछि इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। उक्त साझेदारीले विराटनगरलाई सुरुवाती दबाबबाट बाहिर निकालेको थियो।
त्यसपछि क्रिजमा आएका रसेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए। उनले दुई चौका र पाँच छक्का प्रहार गरे। शुभम रन्जाने सात रनमा अविजित रहे।
जनकपुरका लागि अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए।
प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको विराटनगरले अन्तिम ओभरसम्म पुगेको खेलमा रसेलको प्रभावशाली बलिङका कारण दुई रनको जित हात पार्यो।
ब्याटिङ र बलिङ दुवैमा निर्णायक योगदान दिएका रसेल खेलको उत्कृष्ट खेलाडी घोषित भए।
















































