नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीको जिम्मेवारीका कारण स्वदेश फर्किने भएका छन्।
पाकिस्तानले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलका लागि फरहानलाई राष्ट्रिय टोलीमा बोलाएपछि उनी एनपीएलका खेल छाडेर पाकिस्तान फर्किन लागेका हुन्।
कर्णाली याक्सले फरहान राष्ट्रिय टोलीमा छनोट भएको जानकारी दिँदै उनको अनुपस्थितिमा वैकल्पिक खेलाडी भित्र्याउने तयारी भइरहेको जनाएको छ।
राष्ट्रिय टोलीको खेल अक्टोबर ३१ मा सम्पन्न भएपछि फरहान पुनः एनपीएलमा सहभागी हुन सक्ने सम्भावना छ। यद्यपि, उनको पुनरागमन निश्चित भई नसकेको कर्णाली याक्सले जनाएको छ।
यसैबीच, एनपीएलमा सहभागी पाकिस्तानी खेलाडीको एनओसी सम्बन्धी विषय पनि विवादमा परेको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई एनओसी उपलब्ध गराउन थप २५ हजार अमेरिकी डलर माग गरेको जनाइएको छ।














































