खजुरा (बाँके), कात्तिक ८ गते । धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग हुने पानको पातको माग पूरा गर्न नेपालले विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै यसको व्यावसायिक उत्पादन विस्तार गर्न सके आयात प्रतिस्थापनसँगै किसानका लागि नयाँ आम्दानीको स्रोत बन्न सक्छ । यही सम्भावना खोज्दै बाँकेको कोहलपुरका एक स्थानीयले पाँच वर्षदेखि पान खेतीको नमुना अभ्यास गरिरहनुभएको छ ।
कोहलपुर नगरपालिका–११ का कीट संरक्षण अभियन्ता तथा गाभर भ्यालीस्थित सामुदायिक जिन बैङ्कका अध्यक्ष पुरमल बस्नेतले बाँकेमा पान खेतीको व्यावसायिक सम्भावना देख्नुभएको हो । पाँच वर्षअघि एउटा मिठा पानको बिरुवा ल्याएर रोप्नुभएका उहाँको घरमा अहिले पानको लहरा करिब तीन धुर क्षेत्रफलमा फैलिएको छ । यही अनुभवका आधारमा उहाँले बाँकेमा व्यावसायिक रूपमा पान उत्पादन गर्न सकिने बताउनुभएको छ ।
बस्नेतका अनुसार पान खेतीमा रासायनिक औषधि प्रयोग नगरी कम्पोस्ट मल र पानीको सहायताले स्वस्थ पात उत्पादन भइरहेको छ । पानको बिरुवालाई चिस्यान र ओसिलो वातावरण आवश्यक पर्ने भएकाले उपयुक्त स्थान छनोट गर्न सके बाँकेको हावापानी र भूगोलमा पनि यसको खेती गर्न सकिने उहाँको भनाइ छ ।्
“पाँच वर्षअघि एउटा बिरुवा रोपेर सुरु गरेको खेती अहिले तीन धुरमा फैलिएको छ । सामान्य हेरचाह, कम्पोस्ट मल र पानीबाटै पात उत्पादन भइरहेको छ । हाम्रो हावापानी र भूगोलमा यसको सम्भावना छ भन्ने मेरो अनुभव हो,” बस्नेतले भन्नुभयो ।
उहाँले पान खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सरकारी निकायले अनुसन्धान र प्राविधिक परीक्षण गर्नुपर्ने बताउनुभयो । यस विषयमा कृषि मन्त्रालयका सहसचिवसँग समेत छलफल गरिसक्नुभएका बस्नेतले सरकारी पहलबाट खेतीको उपयुक्तता प्रमाणित भए किसानलाई नयाँ आम्दानीको अवसर दिन सकिने बताउनुभयो ।
बस्नेतसँग हाल करिब १० कठ्ठा जग्गामा खेती गर्न पुग्ने पानका बिरुवा छन् । उहाँले इच्छुक व्यक्तिलाई निःशुल्क बिरुवा वितरणसमेत गर्दै आउनुभएको छ । झापातिर पनि पान खेती भइरहेको आफूले सुनेको बताउँदै उहाँले बाँकेमा यसको सम्भाव्यता अध्ययन गरी उत्पादन विस्तारको योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
पानको पात नेपाली समाजको धर्म, संस्कार र परम्परासँग जोडिएको छ । विवाह, पूजाआजा, व्रतबन्धलगायतका शुभकार्यमा यसको प्रयोग हुन्छ । सांस्कृतिक महत्त्व र नियमित माग रहेपनि नेपालमा खपत हुने पानको पातको आपूर्तिमा आयातको भर पर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन विस्तार गर्नसके विदेशिने रकमको केही हिस्सा देशभित्रै राख्न सकिने सम्भावना छ ।
पान खेतीलाई व्यावसायिक रूपमा विकास गर्न सके किसानले नयाँ बाली र आम्दानीको विकल्प पाउनेछन् । तर, उत्पादन विस्तार गर्नुअघि बजारको माग, उत्पादन लागत, बिक्री मूल्य, पातको गुणस्तर, भण्डारण र ढुवानी व्यवस्थाबारे अध्ययन गर्न आवश्यक छ । बजार सुनिश्चित नगरी खेती विस्तार गर्दा किसानले अपेक्षित लाभ लिन नसक्ने जोखिम पनि रहन्छ ।
बस्नेतले पान खेतीको सम्भावना देखेपनि एउटा घरमा गरिएको नमुना खेतीकै आधारमा ठूलो क्षेत्रफलमा उत्पादन सफल हुन्छ भन्ने निष्कर्ष निकाल्न नसकिने बताउनुभयो । त्यसका लागि कृषि अनुसन्धान गर्ने निकायले माटो, तापक्रम, चिस्यान, उपयुक्त जात, रोगकीरा व्यवस्थापन र उत्पादन क्षमताको परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।
“सम्बन्धित निकायले अनुसन्धान गरेर पान खेतीको सम्भावना प्रमाणित गरिदिनुपर्छ । सरकारी स्तरबाट प्रयास भए व्यावसायिक उत्पादन गर्न सकिन्छ । यसले किसानलाई आम्दानी दिनुका साथै विदेशबाट आउने पानको पातको आयात घटाउन पनि सहयोग गर्छ,” बस्नेतले भन्नुभयो । बाँकेमा पान खेतीको सम्भावना खोजिरहेका बस्नेतको प्रयासलाई कृषि अनुसन्धान र सरकारी सहयोगसँग जोड्न सके यो नयाँ कृषि व्यवसायको विकल्प बन्न सक्छ । त्यसका लागि सम्भावनाको चर्चा मात्र होइन, वैज्ञानिक परीक्षण, किसानलाई प्राविधिक सहयोग र बजार व्यवस्थापनमा समेत ध्यान दिन आवश्यक छ ।
















































