रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ। नेपाल सरकार, एशियाली विकास बैंक (ADB) र लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो भवनको निर्माण जिम्मेवारी Contech–Babul–NB JV नामक संयुक्त कम्पनीले पाएको हो।
भवन निर्माण कार्य २०८४ साल असोज २७ गते (१३ अक्टोबर २०२७) सम्म सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ भने कुल लागत रकम रु. २५ करोड ७० लाख ८६ हजार ६९८ निर्धारण गरिएको छ।
भवन निर्माण लुम्बिनी साँस्कृतिक नगरपालिका–३ अन्तर्गत लन्कापुर र ठुलो पडरियाको बीचमा, तेलार नदी नजिक गरिनेछ।
कार्यवाहक नगरप्रमुख कल्पना हरिजनका अनुसार, यो महत्वपूर्ण योजना यहाँसम्म ल्याउन नगरवासी, वडा नं. ३ का बासिन्दा, नगर कार्यपालिका, वडा समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी कार्यालय भैरहवा, भूमि व्यवस्था विभाग काठमाडौं, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय, नेपाल सरकार, एडीबी लगायत सबैको सक्रिय सहयोग र समन्वय रह्यो।
उहाँले सबैमा आभार व्यक्त गर्दै भन्नुभयो, “अब यो भवन तोकिएको मापदण्डअनुसार गुणस्तरिय रूपमा र निर्धारित समयमा सम्पन्न होस् भन्ने हाम्रो अपेक्षा छ। नगरवासीहरूको निरन्तर निगरानी र सहयोगले यो योजना सफल हुनेछ भन्ने विश्वास लिएको छु।”
उहाँले ठेक्का सम्झौता भएसंगै जनप्रतिनिधिहरुको बर्षौको सपना पुरा हुने कामको प्रारम्भ भएको बताउदै यसले आफुहरुमा सकारात्मक उर्जा थप्ने काम गरेको बताउनुभयो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले नगरपालिकाले द्रुत गतिमा निर्माण कार्य समयमै सम्पन्न गर्न निरन्तर निगरानीका साथ लाग्ने बताउनुभयो । उहाँले यस भवन निर्माणपछि नगर प्रशासनलाई अझ सशक्त र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
















































