कपिलवस्तु, पुस ३० गते । जिल्लाको मायादेवी गाउँपालिकामा रहेको श्री छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालय पछिल्लो समय शिक्षण–सिकाइमा आएको नवप्रयोगका कारण जिल्लाकै नमूना विद्यालयका रूपमा स्थापित हुँदै गएको छ । सीमित स्रोतसाधन हुँदाहुँदै पनि शिक्षकको सिर्जनशील सोच र निरन्तर प्रयासले यहाँको कक्षा कोठा जीवन्त बनेको छ ।
विद्यालयकी बालविकास शिक्षिका सरस्वती उपाध्याय विगत १० वर्षदेखि यही विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ । लामो समयसम्म औपचारिक तालिमको अवसर नपाउँदा उहाँ परम्परागत शैलीमै सीमित रहनु भएको थियो । युनाइटेड मिसन टु नेपालद्वारा सञ्चालित ‘परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय (ऋथ्ऋऋ)’ परियोजनाअन्तर्गत उहाँ क्रियाकलापमा आधारित शिक्षण–सिकाइ तालिममा सहभागी हुनुभयो ।
तालिममार्फत नयाँ शिक्षण विधि, शैक्षिक सामग्री निर्माण र विद्यार्थी–केन्द्रित कक्षा सञ्चालनका सीप सिकेपछि उहाँको शिक्षण शैलीमा उल्लेखनीय परिवर्तन आयो । अहिले उहाँ कक्षाकोठामा आफैँ तयार गरेका सामग्री प्रयोग गरी बालबालिकालाई सक्रिय सहभागितामार्फत सिकाइ गराउनुहुन्छ ।
विद्यालयमा मात्र होइन, विदाको समयमा पनि उहाँ पसलबाट फालिएका बिस्कुट र चाउचाउका कार्टुन, कागज, बोतल जस्ता सामग्री संकलन गरी घरमै शैक्षिक सामग्री निर्माण गर्नुहुन्छ । यसरी तयार गरिएका सामग्रीले कक्षा कोठालाई आकर्षक बनाएको छ । विद्यार्थीहरू शिक्षक नहुँदा पनि आफैँ रमाउँदै अभ्यास गर्ने गर्छन् । यस प्रयासको परिणामस्वरूप विद्यार्थीको नियमित उपस्थिति बढेको छ ।
शिक्षिका उपाध्यायले भन्नुभयो “कि क्रियाकलापमा आधारित शिक्षणले विद्यार्थीको सुनाइ, बोलाइ र लेखाइ क्षमतामा सुधार आएको छ ।” उहाँले विद्यालयमै कार्यमूलक अनुसन्धानसमेत गर्नुभएको छ । यहाँको अभ्यासबाट प्रेरित भएर अन्य विद्यालयका शिक्षकहरुले पनि शैक्षिक सामग्री निर्माण थालेको उहाँले बताउनुभयो । यसरी छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालय अहिले शिक्षण नवप्रयोग सिक्ने केन्द्र बन्दै गएको छ ।
प्रधानाध्यापक नरेन्द्र बहादुर कुर्मीले सरस्वतीको लगनशीलताले विद्यालयको शैक्षिक वातावरण रूपान्तरण भएको बताउनुभयो ।
















































