रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ स्ववासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक हाटीबगाई गाविस वडा नं. ६ मा वर्षौंदेखि बसोबास गर्दै आएका उनीहरूले जग्गाको नापजाँच सम्पन्न भएको लामो समयपछि कानुनी रूपमा जग्गाको स्वामित्व पाएका हुन्।
नापी कार्यालय रुपन्देहीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो। उक्त क्षेत्रको नापजाँच तथा नक्साङ्कन २०७० सालमै सम्पन्न भए पनि विभिन्न प्रक्रियागत कारणले पुर्जा वितरण हुन सकेको थिएन।
गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले लामो समयदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका नागरिकले लालपुर्जा पाउनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले बाँकी भूमिसम्बन्धी समस्या समाधानका लागि पनि स्थानीय सरकारले पहल र समन्वय गर्ने जानकारी दिनुभयो।
नापी कार्यालय रुपन्देहीका प्रमुख मणि रेग्मीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर १४८ परिवारलाई लालपुर्जा वितरण गरिएको बताउनुभयो। २०७० सालमै नापजाँच सकिए पनि प्रक्रियागत कारणले वितरणमा ढिलाइ भएको उहाँको भनाइ थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले लालपुर्जा प्राप्त भएपछि नागरिकको सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित हुनुका साथै आर्थिक तथा सामाजिक सुरक्षामा सहयोग पुग्ने बताउनुभयो।
नापी कार्यालय प्रमुख रेग्मीको अध्यक्षतामा भएको लालपुर्जा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष नर्मदा देवी उपाध्यायको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, नापी अधिकृत सूर्यबहादुर कार्की, वडा नं. ७ का वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेयलगायतको सहभागिता थियो। कार्यक्रमबारे अमिन लक्ष्मण घिमिरेले जानकारी दिनुभएको थियो भने सञ्चालन अमिन ह्रदेश बानियाले गर्नुभएको थियो।
















































