सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक मध्यपहाडी राजमार्गमा बससँग ठोक्किएपछि सुनकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन्।
बिहान ११ः ४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोटको नम्बर नखुलेको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको थियो।
बेपत्ता हुनेमा कार चालक सिन्धुपाल्चोकका करिब ३९ वर्षीय दिलकुमार लामा, स्काभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिका–१ का करिब २७/२८ वर्षीय गणेश थापा र नाम, थर तथा ठेगाना नखुलेका एक जना हेल्पर रहेका छन्।
बेपत्ता भएका व्यक्तिहरू तथा नदीमा खसेको कारको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनापछि बस र चालकलाई नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखिएको प्रहरीले जनाएको छ।
















































