कपिलवस्तु, साउन १९ । सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वाटर कपिलवस्तुले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका करिब रु. ३ लाख ५३ हजार ६ सय ७१ बराबरका विद्युतीय सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार आइतबार राति करिब १०:३० बजे कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–८ कठौतिया क्षेत्रमा भारतबाट भैंसी गोठमा लुकाइछिपाइ राखिएको अवस्थामा चार्जर, टेम्पर्ड ग्लास तथा एयरबड लगायतका सामग्री बरामद गरिएको हो।
बरामद सामग्री सशस्त्र प्रहरी बल, नेपाल बीओपी हथौनावाबाट खटिएको टोलीले सशस्त्र प्रहरी निरीक्षक (स.प्र.नि.) हंसराज जोशीको कमाण्डमा फेला पारेको जनाएको छ।
उक्त सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
















































