नवलपरासी, भदौ १५ गते । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१ बाट प्रहरीले १५८ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले भारतबाट खैरो हेरोइन ल्याई लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहको निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई शङ्का लागेर रोक्न खोज्दा मोटरसाइकल नरोकी भाग्न खोजेपछि चेतावनीस्वरूप प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, महाराजगन्ज, सेखंलीका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र निचलोनका २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन्।
उनीहरूको साथबाट खैरो हेरोइनसहित दुई थान मोबाइल र भारतीय नम्बर यूपी ५६ एएच ६१८९ को मोटरसाइकल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो।
















































