कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको आगामी अधिवेशनलाई लक्षित गर्दै प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले सभापति पदका लागि आफ्नो तयारी तीव्र पारेका छन् ।
प्रदेशको नेतृत्व परिवर्तन हुने निश्चित भएसँगै आचार्य सभापति बन्ने रणनीतिसहित आन्तरिक छलफल, भेटघाट र समर्थन जुटाउने अभियानमा सक्रिय भएका हुन् ।
वर्तमान प्रदेश सभापति अमरसिंह पुनले पुनः नेतृत्वमा नदोहोरिने घोषणा गरेपछि लुम्बिनी कांग्रेसमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ । सभापति पदका आकाङ्क्षीमध्ये कपिलवस्तुका आचार्य पनि बलियो दाबेदारका रूपमा देखिएका छन् ।
पूर्व संघीय मन्त्रीसमेत रहेका आचार्यले पार्टीका शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शअनुसार आफ्नो तयारी अघि बढाइरहेको बताइएको छ । प्रदेश महामन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसकेका आचार्यले प्रदेश संगठनको अनुभवलाई आधार बनाउँदै सभापति पदमा दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन् ।
आगामी प्रदेश अधिवेशनमा सभापति पदका लागि वर्तमान उपसभापति दाङका राजु खनाल, अर्का उपसभापति गुल्मीका भुवनप्रसाद श्रेष्ठ र पाल्पाका वीरबहादुर रानासमेत आकाङ्क्षी देखिएका छन् । उनीहरूसँगै आचार्यको सक्रियताले लुम्बिनी कांग्रेसको नेतृत्व चयन थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।
प्रदेश अधिवेशनको मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन । मंसिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म अधिवेशन हुने सम्भावना रहेको वर्तमान सभापति अमरसिंह पुनले बताएका छन् । अधिवेशनको मिति नजिकिँदै जाँदा आचार्यले आफ्नो पक्षमा समर्थन जुटाउन जिल्ला तथा प्रदेशस्तरका नेता–कार्यकर्तासँगको भेटघाटलाई थप तीव्र बनाउने तयारी गरेका छन् ।
कपिलवस्तुबाट प्रदेश नेतृत्वको दाबी गरिरहेका आचार्यको उम्मेदवारीलाई जिल्लाको राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ ।
















































