कपिलवस्तु, १३ मङ्सिर । कपिलवस्तुको तिलौराकोट साझेदारी वनले गत आर्थिक वर्षमा वन व्यवस्थापन, काठ तथा दाउरा उत्पादन र वन पैदावार बिक्रीबाट रु ११ करोड ७८ लाख ७७ हजार ४७१ आम्दानी गरेको छ ।
वन उपभोक्ता समूहको आइतबार सम्पन्न १५औँ साधारणसभामा प्रस्तुत प्रगति विवरणअनुसार ३२ हजार ४९३ घरधुरी आबद्ध रहेको उक्त वन ६ हजार ५७४ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । नेपालमै पहिलो पटक वन संवर्द्धन प्रणालीमा आधारित व्यवस्थापन सुरु गरिएको यस वनले गत आर्थिक वर्षमा ९१ हजार ३८९ घनफिट काठ र ३०३ चट्टा दाउरा उत्पादन गरेको छ ।
साधारणसभामा लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीले वन पैदावारको बिक्री प्रक्रियालाई सहज, पारदर्शी र प्रभावकारी बनाउन प्रदेश वन नियमावली संशोधन गरिएको बताउनुभयो । परम्परागत कागजी बोलपत्र प्रणाली हटाएर विद्युतीय बोलपत्र (ई–टेन्डर) मार्फत काठ तथा दाउरा लिलाम बिक्री गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री चौधरीले नेपालमै पहिलो पटक कानुनी रूपमा खडा रुखसमेत लिलाम बिक्री गर्ने व्यवस्था अघि बढाइएको बताउनुभयो । यसबाट कटान गरी घाटगद्दीमा राखिएका काठ बिक्री नहुँदा कुहिएर खेर जाने समस्या कम हुने उहाँको भनाइ थियो ।
लुम्बिनी प्रदेश वन निर्देशनालयका प्रमुख ईश्वरीप्रसाद पौडेलले पुराना काठ बिक्रीमा देखिएका कानुनी तथा प्रक्रियागत समस्या समाधान गर्नुपर्ने बताउनुभयो । सङ्घीय वन नियमावलीका कारण सालको काठ सात वर्ष नपुगी पुनर्मूल्याङ्कन गर्न नमिल्ने व्यवस्था रहेकामा अहिले उक्त अवधि घटाएर पाँच वर्ष कायम गरिएको उहाँले जानकारी दिनुभयो ।
बिक्री हुन नसकेका पुराना काठ साझेदारी वनका चिरान मिलमार्फत कटान गरी उपभोक्तालाई वितरण गर्न सकिने उहाँले सुझाव दिनुभयो ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख विजयराज सुवेदीले विद्युतीय बोलपत्र प्रणालीले वन पैदावारको बिक्री प्रक्रियालाई सहज, पारदर्शी र व्यवस्थित बनाउने बताउनुभयो । यसका लागि आवश्यक कार्यविधि निर्माण गरी प्रदेशसभाबाट छिट्टै पारित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
साधारणसभामा वनको आर्थिक अवस्था, दिगो व्यवस्थापन, वन पैदावार उत्पादन तथा बिक्री वितरणमा देखिएका समस्याबारे छलफल गरिएको थियो । साथै आगामी दिनमा वनको उत्पादन र उपभोक्ताको हितलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने योजना तय गरिएको वनका अध्यक्ष जयप्रकाश पाण्डेयले जानकारी दिनुभयो ।
















































