सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले पछिल्लो समयमा ‘भाइबर ग्रुप’मार्फत् सार्वजनिक गरिहेका भिडियोप्रति आपत्ति जनाएको छ।
सचिवालयले सार्वजनिक गर्ने भिडियोको बारेमा सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि बढेपछि कांग्रेसले ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार राति ट्वीट गर्दै आफूले एकपछि अर्कोगरी सार्वजनिक हुन लागेका भिडियोको बारेमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएको जानकारी दिएका छन्।
प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैंले बनाउने छन्– ‘भिडियो’, नत्र पार्टीले बनाउला। पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ। ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छु,’ उनले लेखेका छन्।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको नाममा खोलिएको ‘भाइबर ग्रुप’मार्फत् ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किन भने’ शीर्षक राखेर अहिलेसम्म तीन वटा भिडियो जारी गरिएको छ।
















































