काठमाडौं । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेट लगत्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल चन्द्रागिरीतर्फ लागेका छन् ।
आफू पक्षीय नेता तथा सांसदहरुसहित नेता नेपाल चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका हुन् । राष्ट्रपतिसँगको भेटमा के निष्कर्ष निस्कियो भन्ने खुलाइएको छैन ।
तर, दुई घण्टा लामो छलफलका क्रममा एमाले एकताका विषयमै कुराकानी भएको थियो । नेपालको पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगले बुधबार बोलाएको छ ।
नयाँ पार्टीको आगामी रणनीतिबारे छलफल गर्न नेता नेपाल आफू पक्षीय सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरी रिसोर्टमा पुगेको बताइएको छ ।
स्रोतका अनुसार आज उनीहरु रिसोर्टमै बस्नेछन् । जहाँ झण्डै एक सय जनाका लागि कोठा बुक समेत गरिएको छ । उनीहरुले नयाँ पार्टीको आगामी रणनीतिबारे छलफल गर्नेछन् । साथै नेता नेपालले आज राष्ट्रपतिसँग भएको छलफलको विषय पनि ब्रिफिङ गर्नेछन् ।
















































