चितवन । एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका छन्
सैनिक ब्यारेकबाटै एसएमजी चोरी गरेको अभियोगमा पक्राउ परेका सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ २८ महिनादेखि थुनामा थिए ।
जिल्ला कारागार चितवनमा रहेका सैनिकद्वय सैनिक विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि शुक्रवार छुटेका हुन् ।
उनीहरुलाई पूर्ववत ड्युटीमा फर्कन पनि आदेश दिइएको छ तर सैनिक अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्ने निर्णय गरेको छ । उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालको साथबाट भेटिएको थियो । सोही आधारमा सैनिक अदालतले ढकाललाई जन्मकैदको सजाय तोकेको छ ।
ढकाललाई सैनिक अदालतले सोही हतियार प्रयोग गरी आफ्नै गणमा कार्यरत साथी भरत गुरुङको हत्यामा कसुरदारसमेत ठहर गरेको छ ।
















































