काठमाडौं – संसद बैठकबारे रणनीति बनाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठक बिहान १० बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेको बुझिएको छ । यस्तै नेताहरूबीच राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने विषयमा पनि छलफल भइरहेको एक नेताले बताए ।
संसद अधिवेशन चलिसकेकाले यसलाई प्रक्रियाबाट टुंगो लगाउनुपर्छ वा संसद अन्त्य गरेर निष्क्रिय बनाउनुपर्छ । विषेशगरी जनता समाजवादी पार्टीले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पार्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरूलाई आग्रह गर्दैआएको छ ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । देउवा नेतृत्वको मन्त्रिपरिषदमा हाल चार मन्त्री र एक राज्यमन्त्री मात्र छन् ।
गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आ–आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरूको नामावली दिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए । मन्त्रिपरिषद विस्तारको बारेमा भने अर्को बैठकमा टुंगो लगाउने नेताहरूले बताएका छन् ।
















































