प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । दुवै विधेयक बैठकले बहुमतले पारित गरेको हो ।
यसअघि बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको थियो । सभामुख सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुगेका थिए ।
सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी दलका सांसदलाई पटकपटकको आग्रह गर्दा पनि विपक्षीको अवरोध कायमै रहेका बेला बैठकको कार्यसूचीका विषय अगाडि बढाएका थिए ।

















































