नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य रबि ठाकुरले लोकतन्त्र र मानवअधिकारको रक्षा र विकासका लागि नेपाली काङ्ग्रेसको विकल्प नरहेको बताएका छन् । ‘घर घर जाऔँ काङ्ग्रेस जिताऔँ’ अभियानअन्तर्गत रूपन्देहीको सम्मरीमाईमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता ठाकुरले सो कुरा बताएका हुन् ।
२००७ साल अघिदेखिको राजनीतिक इतिहास केलाउँदा पनि नेपाली काङ्ग्रेस एक मात्र लोकहितकारी पार्टी रहेको उल्लेख गर्दै नेता ठाकुरले लोकतन्त्र र मानवअधिकारका लागि लड्दै देशमा सबैभन्दा लामो र सङ्घर्षपूर्ण इतिहास बोकेको काङ्ग्रेस पार्टीले मात्र देश र जनताको भलो हुन सक्ने बताए ।
उनले एमसिसी परियोजना नेपालको हितमा रहेको बताए । उनले भने, ‘राष्ट्रको हितमा रहेको एमसिसीबारे अनेक भ्रम फिँजाइएकाले काङ्ग्रेस कार्यकर्ताले जनतामाझ प्रस्ट पार्नुपर्छ ।’ उनले अविकसित देशहरूको गरिबी र बेरोजगारी अन्त्य गर्नका लागि मिलेनियम च्यालेन्ज कर्पाेरेसन परियोजना बनेको बताए ।
आगामी निर्वाचन काङ्ग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै उनले भने, ‘लोकतन्त्रको रक्षा र नागरिक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि काङ्ग्रेसको जित आवश्यक छ ।’ उनले बिजुलीको उत्पादन विदेशमा बेच्न ट्रान्समिसन लाइन बनाउनु र सडक बनाउनु राष्ट्र हितमा रहेको बताए ।
नेपाली काङ्ग्रेसका नेता एवम् लुम्बिनी प्रदेशसभा सदस्य अष्टभुजा पाठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसको जित सुनिश्चित रहेको भन्दै त्यसका लागि पार्टीभित्रको आपसी तिक्तता र मतभेद त्यागेर काङ्ग्रेस जिताउन सबै जना एकढिक्का भई लाग्नुपर्ने उपस्थित नेता कार्यकर्तालाई आग्रह गरे ।
नेता पाठकले भने, ‘योगदान र लोकप्रियताको आधारमा तेरो–मेरो नगरी इमान्दार र योग्य उम्मेदवार छनोट गर्नुस्, जित सुनिश्चित छ ।’ कम्युनिस्टलगायतका लोकतन्त्रविरोधी शक्तिहरूले मुलुकलाई खतरा पु¥याउन सक्ने बताउँदै उनले भने, ‘त्यस्ता स्वार्थी समूह र तानाशाही तप्काबाट सावधान रहन आवश्यक छ ।’
नेपाली काङ्ग्रेस क्षेत्र नं ४ ‘क’का सभापति शिवकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य वासुदेव यादव, महाधिवेशन प्रतिनिधि गयाप्रसाद बरइ, क्षेत्र नं ४ का क्षेत्रीय सभापति मुकेश यादव, जिल्ला सदस्य एवम् सम्मरीमाई गाउँपालिका उपाध्यक्ष प्रियङ्का शाही, बैजनाथ पाठक, वीरेन्द्र यादव, रमेश यादव, जनार्दन यादवलगायतले आ–आफ्ना विचार राखेका थिए । –कोसी अनलाइन
















































