भक्तपुर । बुद्धकृष्ण बाग श्रेष्ठले नवौं तथा अन्तिम पटक जिब्रो छेडेका छन् । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा श्रेष्ठले नवौं पटक जिब्रो छेड्दै यो नै अन्तिम हुने बताए ।
मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यसवर्ष अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।
उमेरका कारण अर्को वर्ष जिब्रो नछेड्ने बुद्धकृष्णले बताएका छन् । उनले अब यो सँस्कृतिलाई युवापुस्ताले निरन्तरता दिनु पर्ने बताए । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्न समेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नुन समेत खानु हुँदैन ।
व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरिन्छ ।
नगर परिक्रमा बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ । परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा कोरोना सङ्क्रमणका कारण बीचमा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ । जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।
जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ। हालसम्म १२ जनाले जिब्रो छेडेका छन् ।
















































