साझा न्यूज । कपिलवस्तु
सवारी चेकजांचका नाममा कपिलवस्तु ट्राफिकले असुली धन्धा चलाएको छ । जिल्लाका विभिन्न सडक खण्डमा चेक जांचका नाममा सवारी चालक सर्वसाधारणहरुसंग अवैध रुपमा रकम संकलन कार्यमा ट्राफिक प्रहरी खटिने गरेका छन् । नाम सवारी साधन चेक जांच तर काम भने रकमको अवैध असुली रहेको छ ।
विहिवार सांझ मात्रै तौलिहवा लुम्विनी सडक खण्डको दोहनीमा पकडीबाट तौलिहवा तर्फ आउदै गरेको लु ६८ प ३८३५ नम्बरको मोटर साईकल चालक अनिल प्रसाद अहिरसंग कागजपत्र नहुंदा ड्युटीमा रहेका ट्राफिक प्रहरीले ५ सय रुपैया काट्न खोज्दा मोटरसाईकल चालकले ५ सयको सट्टा १ सय भा.रु. मात्र आफुसंग भएको बताए ।
चेकजांचका नाममा आम सर्वसाधारणलाई दुख दिन किन रकम उठाएको भन्दै एक संचारकर्मीले प्रश्न गरे पछि ट्राफिक प्रहरीले बल्ल सो मोटरसाईकलको ५ सय रुपैया राजश्व रसिद काटेको छन् । तर मोटर साईकल चालक अहिरले भने सो रकम तिर्न मानेनन् । कागजपत्र नभए पनि आफु संग १ सय रुपैया भा.रु. भन्दा बढी पैसा नरहेको कारण पैसा तिर्न नसक्ने मोटरसाईकल चालकले बताउंदै थिए ।
सडकमा खटिएका ट्राफिक प्रहरीले सडकमा दुर्घटना जोखिम न्यूनीकरण गर्न भन्दा पनि चेक जांचका नाममा रकम असुली गर्न व्यस्त देखिन्छन् । सडक सुरक्षा भन्दा पनि राजश्व संकलन र आफ्नो कार्य प्रगति देखाउन ट्राफिक प्रहरीले सडकमा अनावश्यक रुपमा सर्वसाधारणलाई दुख दिने गरेको स्थानीयको गुनासो छ ।
सो सडक खण्डमा क्षमता भन्दा बढि लोड बोकेर हिड्ने ठुला सवारी साधनहरुलाई भने सेटिंगकै आधारमा सामान्य जरिवाना काटेर ट्राफिक प्रहरीले छोड्ने गरेको छ । तर सर्वसाधारणलाई कागज पत्रको बाहनामा दुख दिने, अवैध रकम असुली गर्ने गरेको स्थानीयहरुको ठुलो गुनासो छ ।
चाडवाडका बेला असुरक्षित ढंगले सवारी चलाउने, मापसे गर्ने तथा ट्राफिक नियम उलंघन गर्नेलाई कारवाही गरे पनि चाडवाड मनाउन हिडेका, अस्पताल तथा अन्य अति आवश्यक काममा हिडेका सर्वसाधारणहरुलाई भने विशेष सहयोग गर्नु पर्ने नागरिक अगुवाहरुको माग छ ।
















































