कपिलबस्तु, साउन ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विरोधमा जसपा नेपाल कपिलबस्तुद्धारा प्रदर्शन गरिएको छ । जसपा नेपाल कपिलबस्तुद्धारा नागरिकता विधेयक फिर्ताको विरोधमा राष्ट्रपति भण्डारी पुत्लादहन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । जसपा नेपाल कपिलबस्तुकाले जिल्ला प्रशासन अगाडि राष्ट्रपति भण्डारी पुत्लादहनका साथै नारावाजी गर्दै प्रदर्शन गरेको हो ।
नागरिकता विधेयक फिर्ता गरी राष्ट्रपति भण्डारीले ठूलो गल्ती गर्नु भएको जसपा नेपाल कपिलबस्तुका अध्यक्ष शैलेन्द्र यादवले बताउनुभयो । उहाँले तत्कालै पुनः प्रक्रिया पु¥याई नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउन सरकारसँग माग गर्नुभएको छ ।

सरकारको दुवै सदनबाट अति आवश्यक नागरिकता विधेयक सम्मानित दबै सदनबाट पारित भई प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पेश भएको सो विधेयक फिर्ता गर्नु दुखःपूर्ण रहेको उहाँले बताउनुभयो ।
जसपा नेपालका प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँले आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने षड्यन्त्रमा राष्ट्रपति भण्डारी पनि सामेल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपथ्र्याे । तर उहाँ आफ्नै देशका नागरिकको नजरमा दोषी बनेको बताउनुभयो ।’ कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले नागरिकता विहिनहरुलाई राज्यले यथाशिघ्र विधेयक पास गरी नागरिकता उपलब्ध गराउन माग गर्नुभयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्राले यो नितिगत कुरा रहेको र मबाट समाधान हुन नसकेकोले ज्ञापन पत्र जस्ताको त्यस्तै प्रधानमन्त्री समक्ष पठाउने बताउनुभयो । प्रर्दशनमा जसपा नेपाल कपिलबस्तुका नेता राम नेवास यादव, बजरंगी कुर्मी लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
















































