काठमाडौं, जेठ १८ गते। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गर्दै सो विषय कसरी समावेश हुन्छ भन्ने जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग्नुभएको हो।
सांसद पौडेलले भन्नुभयो, ‘‘केही दिन अगाडि नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका विषयलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नुभएको थियो। म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु– हामीले छलफलमा उठाएका यी विषयलाई तपाईंले बजेटमा कसरी समावेश गर्नुहुन्छ ? यो संसदलाई स्पष्ट गराई दिनुहुन म अनुरोध गर्छु।’’
सांसद पौडेलले आज अर्थतन्त्रमा देखिएको समस्या लामो समयदेखिको परिणाम भएकोसमेत बताउनुभएको छ। सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरु मुख्य कारण रहेको औंल्याउनुभएको छ।
















































