तौलिहवा, जेठ २९ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित बसपार्कमा प्रहरीको कार्य योजना अनुसार महिला प्रहरी सहितको प्रहरीको सुरक्षा विट स्थापना गरिएको छ। विटको उद्घाटन कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल र प्रमुख जिल्ला अधिकारी शंकरहरि अचार्यले गर्नुभएको हो ।
विटका लागि नगरपालिकाले बस पार्कमा रहेका २ वटा सटरहरु प्रहरीलाई दिएको छ । बसपार्कमा अपराधिक घटनाहरुमा कमी आउने र यात्रुहरुले शान्ति सुरक्षाको महसुस गर्ने नगर प्रमुख पौडेलले बताउनुभयो ।
बसपार्कमा बिट स्थापना महत्वपुर्ण काम भएको भन्दै विट स्थापना भएपछि भिडभाड हुने बसपार्क र यात्रुहरुको सुरक्षाको मद्दत मिल्ने उहाँको विश्वास छ । नगरपालिकाको जगदीशपुर ताल क्षेत्र, दोहनी र बसपार्क गरी ३ ठाउमा प्रहरी बिट स्थापना हुनुले पनि नगर क्षेत्रको सुरक्षा थप बलियो हुने उहाँको भनाइ छ । उहाँले बस व्यवसायीहरुलाई तौलिहवा बजार क्षेत्रमा तीव्र गतिमा गाडी नचलाउन आग्रह समेत गर्नुभयो ।
प्रजिअ आचार्यले प्रहरी विटले यात्रुहरुले विभिन्न गुनासोहरु समाधान हुने र झैझगडामा समेत कमी आउने बताउनुभयो । उहाँले यात्रुहरुको सुविधाको ख्याल गर्न प्रहरी र यातायात व्यवसायीलाई आग्रह गर्नुभयो ।
प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले व्यस्त ठाउँमा प्रहरी राख्ने योजना अनुरुप प्रहरी विट स्थापना गरिएको बताउनुभयो । यसले शान्ति सुरक्षा र अमनचयन ल्याउने उहाँको दावी छ ।
कार्यक्रम सामुदायिक सेवा केन्द्रको अध्यक्ष देवी प्रसाद बर्माको अध्यक्षता र प्रहरी निरिक्षक रेशम पौडेलको सञ्चालनमा भएको थियो ।
















































