असलम खान
साझा न्यूज । रुपन्देही । जिल्लाको मर्चवारी गाउँपालिकाले २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरि मनाइँएको छ । महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गाउँपालिकाले एक कार्यक्रम गरि महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाई सम्मान गरेको छ ।
यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । मर्चवारी गाउँपालिकाको १ देखि ७ वडाहरुमा कुल ६६ महिला स्वयमसेविका कार्यरत रहेको मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फकन शाहले जानकारी दिएका छन् । स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पु¥याउदै आएका छन् । विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन् ।
















































