साझा न्यूज । कपिलवस्तु
यशोधरा गाउंपालिका वडा नं. १ पकडी गाउंका आगोलागीबाट पिडित रहेका ३८ घर परिवारलाई राहत वितरण गरिएको छ । लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयको अग्रसरता र कपिलवस्तु क्षेत्र नं. १ का सांसद तथा पुर्व मन्त्री सुरेन्द्र राज आचार्यको पहलमा सेभ द चिल्ड्ेन फिल्ड कार्यालय सुर्खेतको टोलीले अग्नी पिडित गाउंमा आई राहत वितरण गरेको हो ।
सो अवसरमा सांसद सुरेन्द्र राज आचार्य, लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय, यशोधरा गाउंपालिकाका पुर्व अध्यक्ष गिरिजेश पाण्डेय, वडा नं. १ का वडा अध्यक्ष अब्दुल कैयुम खान, पुर्व वडा अध्यक्ष शिवपुजन पासी, नेपाली कांग्रेसका नेताहरु जगदीश पाण्डेय, ओम प्रकाश गुप्ता, विरेन्द्र शुक्ला, सेभ द चिल्ड््ेनकी परियोजना संयोजक फुल कुमारी चौधरी लगायतले सो राहत सामाग्री हस्तान्तरण गरेका थिए ।
भांडाकुडा, सेल्टर किट, सरसफाई किट, झुल, खानेपानी फिल्टर सहित खाद्यान्न सामाग्रीहरु वितरण गरिएको थियो । आगलागी पिडित ७२ जना स्कुले विद्यार्थीहरुलाई झोला, स्टेशनरी, कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको समन्वयकारी संस्था पिस नेपालका मणि प्रसाद गैहेले बताए ।
२५ जना ५ वर्ष मुनिका बालकालिकाहरुलाई न्यानो कपडा र १० जना गर्भवती एवं सुत्केरी अवस्थाका महिलाहरुलाई डिग्नीटी किट सहितका सरसफाई सम्वन्धी सामाग्रीहरु वितरण गरिएको छ ।
आगलागी पिडितहरुको राहतका लागि अन्य केन्द्रिय संघ संस्थाहरुसंग पहल भई रहेको सांसद सुरेन्द्र राज आचार्यले बताए । आगलागी पिडितको समस्या प्रति आफु निकै संवेदनशील भएको र उनीहरुको राहतका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारका निकायहरु सक्रिय भई लाग्न समेत सांसद आचार्यले आग्रह गरे ।
सो अवसरमा लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेयले आफ्नो गाउं ठाउंमै यति ठुलो आगलागीबाट क्षति भएको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई राहत सामाग्री जुटाउन आफ्नो स्तरबाट प्रयास गरिरहेको बताए ।
वैशाख ७ गते दिउसो गहुं खेतमा लागेको आगो पश्चिमी हावाका कारण गाउं सम्म फैलदा पकडी गाउंका ४० घर गोठ जलेर खरानी भएको थियो । आगलागीबाट करीब १ करोड रुपैया बढीको क्षति भएको वडा नं. १ का अध्यक्ष अब्दुल कैयुम खानले बताए ।
यशोधरा गाउंपालिका र वडा कार्यालयबाट पनि आगलागी पिडितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराईएको वडा अध्यक्ष खानले बताए ।
















































