साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु । हिन्दु धर्मावलम्वीहरु माथि बंगलादेशमा भएको आक्रमण तथा हिंसाको विरोध गर्दै कपिलवस्तुको सदरमुकाम तौलिहवामा विश्व हिन्दु परिषदले विरोध प्रदर्शन गरेको छ । तौलिहवा स्थित तौलेश्वर महादेवको मन्दिर परिसरबाट निस्केको हिन्दु अगुवाहरुको जुलुशले तौलिहवा बजार परिक्रमा गरेको थियो ।
वंगलादेशमा हिन्दु उपर भएको दमनको अन्त्य गर, संसार भरका हिन्दुहरु एक हौं भन्ने नारा लगाउंदै हिन्दु अगुवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभा गरी हिन्दु धर्मावलम्वीहरु माथि हुने आक्रमणको विरुद्ध नेपाल भारत लगायत संसार भरका हिन्दुहरु एक हुनु पर्नेमा जोड दिएका छन् ।
धार्मिक आस्थाकै आधारमा हिन्दुहरु माथि आक्रमण हुनु दुखद रहेको हिन्दु अगुवा बृजेश भट्टराले बताए । हामी सवै धर्म समुदाय मिलेर एक आपसमा बसुधैवकुटुम्वकम्को मर्म अनुसार अघि बढ्छौं, तर हाम्रो धार्मिक समुदाय प्रति हुने विभिन्न खाले आक्रमण प्रति भने हामीलाई सह्य नहुने भट्टराले बताए ।
बंगलादेशमा हिन्दु समुदाय माथि भएको आक्रमणको घटना प्रति आफुहरु पनि दुखी भएको मुस्लिम अगुवा रउफ अहमद खांले बताए । धार्मिक सद्भाव कायम राख्न सवै धर्मका अगुवाहरुले एक अर्काको धर्म प्रतिको आदार सम्मान कायम राख्नु पर्नेमा मुस्लिम अगुवा खांले जोड दिए ।
विरोध जुलुशलाई कडा सुरक्षाका साथ स्थानीय प्रशासनले सुरक्षा प्रदान गरेको थियो ।
















































