नेपालगन्ज, कात्तिक ३ गते । तिहार र दिपावलीको बेला बाँकेमा ठुलो परिमाणको हारजित हुनेगरि खेलिने गरेको जुवातासको विकृति विरुद्ध कडा अभियाननै चलाएको प्रहरीले कोहलपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
यसअघि गत साता मात्रै नेपालगन्जमा करिब १४ लाख रुपियाँसहित १४ जना र खजुराबाट ४७ हजार रुपियाँसहित पाँच जना जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले आइतवार राती कोहलपुरबाट करिब तीन लाख रुपियाँसहित ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले दिनु भएको जानकारी अनुसार आइतवार राती करिब साढे १२ बजेको समयमा कोहलपुर १५ चौधरीया गाउँमा रहेको लक्ष्मी प्रसाद बोहोराको पुरानो कुखुरा फर्मभित्र हारजित हुनेगरि जुवातास खेलीरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले छापा मारेर करिब तीन लाख रुपियाँसहित ११ जनालाई जुवाखालबाटै नियन्त्रणमा लिईएको हो ।
सो ठाउँबाट प्रहरीले दुई लाख ८८ हजार ८३५ रुपियाँ र खुलेको सात गड्डी तास र नखुलेको सात गड्डी तासहित कोहलपुर १५ का लक्ष्मी प्रसाद बोहोरा, सोही ठाउँका धन बहादुर परियार, मायाराम थारु, सन्जय चौधरी, सत्यनारायण थारु र राम सेवक थारु, कोहलपुर ४ का किसन सुनार, कोहलपुर १२ का खेम बहादुर क्षेत्री, कोहलपुर ९ का चन्द्रराज गिरी, कोहलपुर १४ का दिपेन्द्र थापा तथा डोल्पा मुडकीचुला गाउँपालिका ३ स्थायी घर भई हाल कोहलपुर १४ बैजनाथ टोल बस्ने दिलिप सिंह ठकुरीलाई जुवा खेलीरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो ।
उहाँले सो बारेमा थप अनुसन्धान भइरहेको जनाउँदै यस पटक जुवातास हुन नदिने अभियानमा प्रहरी रहेको बताउनुभयो ।
यसअघि प्रहरीले असोज २२ गते नेपालगन्जको मौरी रेष्टुरेन्टमा छापा मारेर जुवा खेलीरहेको अवस्थामा एकजना वरिष्ठ प्रहरी नायब निरिक्षकलाई समेत १४ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको थियो ।
















































