कृष्णनगर (कपिलवस्तु), माघ १३ गते । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका करिब १७ लाख रुपैयाँभन्दा बढी मूल्यका फलफूल तथा सवारी साधन प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको लु ३ च १११७ नम्बरको पिकअप चेकजाँच गरेको थियो । पिकअप चालक दाङको राप्ती गाउँपालिका वडा नं. १ का करिब २५ वर्षका मोहम्मद अकरम रहेको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा उक्त पिकअपमा भारतबाट भन्सार छली चोरी निकासी गरी ल्याइएका १ हजार १३५ केजी फलफूल (केरा, जुनार र अनार) फेला परेको थियो, जसको बजार मूल्य करिब १ लाख ४ हजार ८ सय रुपैयाँ रहेको छ । साथै पिकअपको मूल्य करिब १५ लाख रुपैयाँ आँकलन गरिएको छ । यसरी फलफूल र सवारी साधन गरी कुल मूल्य १६ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले चालकसँगै सहचालक दाङ राप्ती गाउँपालिका वडा नं. ६ का करिब २५ वर्षका प्रदीप कुमार चौधरीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाएको छ ।
यसैगरी कृष्णनगर नगरपालिका वडा नं. २ स्थित प्रहरी चेकपोइन्ट नजिकै भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गर्दा प्रहरीलाई देखी छाडेर फरार भएको अवस्थामा करिब १ लाख ९ हजार ३ सय रुपैयाँ मूल्य बराबरका फलफूल (केरा, जुनार र अंगुर) वेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । ती सामानसमेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले सीमा क्षेत्रमा अवैध पैठारी रोक्न नियमित चेकजाँच कडा बनाइएको बताउँदै भन्नुभयो, “भन्सार छली हुने अवैध आयातले राज्यको राजस्वमा क्षति पु¥याउने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय सक्रिय रूपमा परिचालन गरिएको छ । आगामी दिनमा पनि सीमा क्षेत्रमा निगरानी अझ कडा बनाइनेछ ।”
प्रहरीले भन्सार छली अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यमा संलग्नलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।
















































