तौलिहवा (कपिलवस्तु), माघ १८ गते । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने निर्वाचन प्रहरीका लागि अनुशिक्षण कार्यक्रम आजदेखि सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी जनर्दन गौतमले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले अनुशिक्षणका क्रममा प्राप्त ज्ञान र सीपलाई निर्वाचन सुरक्षामा प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरक्षक सन्तोष आचार्य, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी, राष्ट्रिय अनुसन्धान विभाग कपिलवस्तुका जिल्ला प्रमुख हिरेन्द्र बहादुर कुँवर, नेपाली सेनातर्फबाट शमशेर दल गणका प्रमुख विदुरध्वज अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्रशिक्षक वर्ग तथा निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूको उपस्थिति रहेको थियो ।
निर्वाचन प्रहरीका लागि सञ्चालन गरिएको उक्त अनुशिक्षण कार्यक्रम १० दिनसम्म चल्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुशिक्षण पूरा गरेपछि प्रशिक्षित प्रहरीहरू निर्वाचन सुरक्षामा परिचालन गरिने जनाइएको छ । निर्वाचन प्रहरीमा छनौट भएका २ हजार ९९३ जना छनौट भएका छन् ।
निर्वाचन प्रहरीमा खटिनेले प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको एकमुष्ट ३४ हजार ७७६ रुपैया पाउने छन् । निर्वाचनमा खटन आउने जाने बापत एकपटकका लागि ८४६ रुपैयाँ चार दिनको खाजा खर्च १२ सय रुपैयाँ पाउने छन् ।
















































