कपिलवस्तु । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कपिलवस्तुको तौलिहवास्थित कसौधन परिवारले दुई लाख २१ हजार रुपियाँ सहयोग गर्ने भएको छ।
कपिलवस्तु नगरपालिकाका पूर्वनगर उपप्रमुख बासुदेवप्रसाद कसौधन, तौलिहवा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सन्तोष कसौधन र युवा समाजसेवी अमरदीप कसौधनको परिवारले बाढीपीडितको सहयोगार्थ उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकको जनजीवन प्रभावित भएकाले मानवीय दायित्वबोध गर्दै सहयोग गर्ने निर्णय गरिएको कसौधन परिवारले जनाएको छ।
परिवारका अनुसार सहयोग रकम कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सम्बन्धित आधिकारिक राहत कोषमा जम्मा गरिनेछ।
सङ्कटको यस घडीमा बाढीपीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाउँदै कसौधन परिवारले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
















































