कपिलवस्तु, कात्तिक ११ गते । कपिलवस्तु नगरपालिकाले दसौँ नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको तयारी अघि बढाएको छ । नगरपालिकाले प्रतियोगितामा सहभागी हुन नगरभित्रका सबै वडा कार्यालयलाई क्रिकेट टोली दर्ता गराउन आग्रह गरेको छ ।
नगरपालिकाका नियमित प्रमुख प्रशासकीय अधिकृत पदमराज श्रेष्ठद्वारा जारी सूचनाअनुसार प्रतियोगिता कात्तिक १६ गतेदेखि तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुने टोलीले कात्तिक १३ गते साँझ ५ बजेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ ।
प्रतियोगितामा प्रत्येक वडाबाट १४ जना खेलाडी र एक जना टिम म्यानेजर वा प्रशिक्षकसहित १५ जनाको टोली सहभागी हुन पाउने व्यवस्था गरिएको छ । खेलाडीको नागरिकताको प्रतिलिपिसहित फोटो टाँस गरी प्रमाणित गराएर टोली दर्ता गराउनुपर्ने नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताका खेल टी–२० प्रारूपमा सञ्चालन हुनेछन् । दैनिक दुई खेल खेलाइने प्रतियोगितामा पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ । खेलाडीका लागि आवश्यक खेल सामग्री सम्बन्धित वडाले व्यवस्था गर्नुपर्नेछ भने खेलाडीलाई टी–सर्ट आयोजकले उपलब्ध गराउनेछ ।
प्रतियोगितामा सम्बन्धित वडाका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । अन्य वडा, पालिका वा जिल्लाका खेलाडी समावेश गरेको पाइएमा सम्बन्धित टोलीलाई प्रतियोगिताबाट बर्खास्त गर्न सकिने सूचनामा उल्लेख छ ।
प्रतियोगिता सञ्चालनका क्रममा कुनै विवाद उत्पन्न भएमा म्याच रेफ्रीको निर्णय अन्तिम हुने र खेल आईसीसीको नियमअनुसार खेलाइने नगरपालिकाले जनाएको छ ।

















































