कपिलवस्तु, कात्तिक १६ गते । कपिलवस्तुमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
कपिलवस्तु नगरपालिका–६ थुम्हवा चोकस्थित जितपुर–तौलिहवा सडकखण्डमा सोमबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ६५ वर्षीय मुस्तकीम मुसलमानको मृत्यु भएको हो ।
ओदारीबाट तौलिहवातर्फ आउँदै गरेको लु १ ख ८६४३ नम्बरको स्काई लार्क बोर्डिङ स्कुलको बसले थुमुवा गाउँबाट राजमार्गतर्फ निस्कँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एल ०४८९ नम्बरको मोटरसाइकललाई साँझ करिब ४ः५५ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–६ थुम्हवा निवासी ५५ वर्षीय मजर हुसेन र पछाडि सवार मुसलमान घाइते भएका थिए । दुवैलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले मुसलमानलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा टाउको, दुवै हात र खुट्टामा चोट लागेका हुसेनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि साँझ ५ः१५ बजे भैरहवा रिफर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले दुर्घटनामा एक जनाको मृत्यु भएको र एक जना घाइतेको उपचार भइरहेको जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बस चालक बाणगंगा नगरपालिका–११ निवासी ३१ वर्षीय गोविन्द थारु प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
















































