कपिलवस्तु, २ मङ्सिर । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु भएको छ।
नगरपालिकाको वडा नं. १ स्थित पुरेनामा सुरु भएको कक्षामा वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई वित्तीय व्यवस्थापन, बचत तथा मनोसामाजिक परामर्शसम्बन्धी जानकारी प्रदान गरिनेछ। साताको एक दिन सञ्चालन हुने कक्षा २१ हप्तासम्म चल्नेछ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख केशवकुमार श्रेष्ठले आवश्यक जानकारी र परामर्शको अभावमा नेपालीहरू वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या तथा कठिनाइ भोग्न बाध्य भएको बताउनुभयो। वैदेशिक रोजगारीसम्बन्धी समस्या न्यूनीकरण तथा परिवारका सदस्यलाई सचेत बनाउने उद्देश्यले नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो।
उहाँले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक मेनपावर कम्पनीमार्फत मात्र जान र आवश्यक कागजात सुरक्षित राख्न आग्रह गर्नुभयो। वैदेशिक रोजगारीका क्रममा कुनै समस्या आइपरेमा नगरपालिकासँग समन्वय गर्नसमेत उहाँले अनुरोध गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेय, वडा नं. ५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीलगायतको उपस्थिति थियो।
नगरपालिकाले हरेक वर्ष वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई लक्षित गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको रोजगार संयोजक रविन चौधरीले बताउनुभयो।
उहाँका अनुसार वैदेशिक रोजगारीमा जाने क्रममा आवश्यक सावधानी नअपनाउँदा अझै पनि धेरै परिवारले आर्थिक तथा सामाजिक समस्या भोग्नुपरेको छ। यस्ता समस्या न्यूनीकरण गर्न परिवारका सदस्यलाई समेत सचेत र सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।
नगरपालिकाका वडा नं. २, ४ र ९ मा समेत उक्त कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
















































