कपिलवस्तु, मङ्सिर १३ गते । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकार पक्राउ तथा धरपकड गर्नेलाई कारबाही र लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आज धर्ना दिएको छ ।
महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालय अगाडि आयोजना गरेको धर्नामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, प्रेस काउन्सिलका अध्यक्षलाई फिर्ता गर्न, लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ता लिन तथा त्यससम्बन्धी कानुन संसद्बाट ल्याउन माग गरिएको थियो ।
पत्रकारहरूले उठाएका मागप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति माधव पराजुलीले एकबद्धता जनाउनुभएको छ । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकारहरूले उठाएका मागमा आफ्नो समर्थन रहेको बताउनुभयो ।
धर्नामा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, उपाध्यक्ष खगप्रसाद चापागाईं, निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष वसन्त गिरीलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता थियो ।
धर्नामा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता संकटमा परेको भन्दै पत्रकार पक्राउ तथा धरपकड रोक्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।
















































