सुर्खेत । राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको हो। उनीहरूलाई प्रहरीले जेठ २३ गते बिहान ३ बजे पक्राउ गरेको थियो।
बुधवार दिउँसो उनीहरूलाई कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ।
न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
मिलनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौनहिंसा भएको थियो।
दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो।