जापानमा जारी ३२औँ ग्रीष्मकालीन टोकियो ओलम्पिक आज सकिंदैछ । कोरोना महामारीले प्रभावित यस पटकको ओलम्पिक दुई सातासम्म सञ्चालन गरिएको हो । समापन समारोह आज साँझ टोकियोमा हुने कार्यक्रम छ ।
समारोहमा ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरिने छ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ । टोकियो ओलम्पिकको अन्तिम दिन विभिन्न ८ खेलका १३ स्वर्ण पकको भिडन्त हुँदैछ ।
आयोजकका अनुसार आज एथलेटिक्स, बास्केटबल, बक्सिङ, ह्याण्डबल, जिम्नास्टिक, ट्रयाक साइक्लिङ, भलिबल र वाटर पोलो खेलहरुमा प्रतिस्पर्धा हुदैछ । ओलम्पिकमा अहिलेसम्म ३८ स्वर्ण पदकसहित चीन शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको अमेरिकाले ३६ र तेस्रो स्थानको आयोजक जापानले २७ स्वर्ण जितेको छ । टोकियो ओलम्पिकमा शनिवारसम्म ६५ देशले स्वर्ण पदक जितेका छन । ९३ देशले पदक तालिकामा नाम लेखाएका छन् । टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार तीन सयभन्दा बढी खेलाडी सहभागिता जनाएका छन् ।