नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् ।
अपराजित लुम्बिनी लायन्सले तीन खेलमा दुई जित निकालेको छ भने एक खेलमा अंक बाँडेको छ । पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी चौथो जितको खोजीमा छ । उता जनकपुरले चार खेल खेलिसक्दा दुई हार र दुई जित निकाल्दै चार अंक जोडेको छ ।
जनकपुर तालिकाको चौथो स्थानमा छ । समान अंक भएका कर्णाली र विराटनगर रनरेटका आधारमा अगाडि छन् । तेस्रो जितको खोजीमा रहेको जनकपुरले पाँचौ खेल खेल्दै छ ।
दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज आमने-सामने हुनेछन् । दुई खेलमा एक हार र एक जित निकालेको काठमाडौँ दोस्रो जितको खोजीमा छ ।
दुई अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौँका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
चार खेलमा दुई जित निकालेको विराटनगर किंग्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँचौ खेलमा तेस्रो जितको खोजीमा हुनेछ ।















































